नक्कली उ र नक्कले उस्का नयन
छमछमी पाउजु छमकाउँदै छेउमै उ बस्दा
छियाछिया हुन्छ छाती, छड्के नजरले डस्दा
कालो गाजलले कुँदेका ती कञ्चन किनारा
कसरी काटूँ म कल्पेर कालखण्ड सारा ?
---
झम्किंदै झुल्किन्छे झिसमिसे बिहानी जस्तै
झर्नाझैं झर्छन् केश, झलमल जुनकिरी बस्तै
मस्किंदै मुसुक्क मुस्कुराउँदा मर्छ मेरो मन
मोहिनी मन्त्रले मार्नै लागेझैं मगमगाउँछ यो तन
---
---
---
---
चञ्चल चपला झैं चमचम चम्किएकी
चोरिराख्छे चित्त मेरो,छ गमला झै सजिएकी
डमडम डमरु झैं ढुकढुक हुन्छ मुटु
डराउँछ यो ढुकढुकी, छिनमै कसरी छुटुँ?
---
तँछाड मछाड गर्छन् तारा, उनको तेज अघि
तड्पिन्छु म तिर्सनाले, उनकै तस्बिर हेरि
गगनका गङ्गा जस्तै, गहिरा ती गाजल
गुम्सिएका गीत मेरा, गुञ्जाउछौ पागल
---
---
सासले सुम्सुम्याउँछन् बाटुला ती गाला
बिछट्टै बैंशालु, बाँध्नै नसकिने जाला
कोइलीको कुहूकुहूले कोर्छन् कला कृति
नियाल्दा मन चलमलाउछ, कस्तो बिचित्र यो प्रीति
---
झमझम झरी पर्दा, झल्को झनै आउने
झुम्का लगाइ झर्ना नेर, झिलिमिलि छाउने
नक्कली उ, र नक्कले उस्का नयन
नभेट्दा यो नजरले, भेटाएन चयन ।